नेपालको कतारसँग फराकिलो जित
डेटूडे खबर डेस्क
०१ मंसिर २०७८
जनकपुरधाम, ०१ मंसिर । नेपालले कतारसँग महिला ट्वान्टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा मंगलबार १ सय १९ रनको फराकिलो जित निकालेको छ।
दोहास्थित वेस्ट इन्ड पार्कको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १ सय ४७ रनको लक्ष्य पछ्याएको कमजोर टोली कतार ११.५ ओभरमा २७ रनमै समेटिएपछि नेपालले फराकिलो जित दर्ता गरेको हो। गत वर्षको जनवरीदेखि मात्र ट्वान्टी–२० क्रिकेट खेल्न सुरु गरेको कतारको महिला टोलीमाथि नेपाली बलर सुरुआतदेखि नै हाबी भए।
कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालकी कप्तान रुबिना क्षेत्रीले तीन विकेट लिँदा कविता कुँवर र सीता रानामगरले २/२ विकेट लिए। करुणा भण्डारीले एक विकेट निकाल्दा कतारले दुई विकेट रनआउटका रूपमा गुमायो।
कतारले पहिलो ओभरमा खाता नखोल्दै दुई विकेट गुमाएको थियो। कविता कुँवरले दोस्रो र तेस्रो बलमा क्रमशः आयसा र साची ढाडवाललाई शून्यमै एलबिडब्लु सिकार बनाइन्। त्यसपछि समालिनै नसकेको कतारले १२औं ओभरमा मात्र तीन विकेट गुमाएको थियो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर नै खेल्दै चार विकेटको क्षतिमा १ सय ४६ रनको बनायो। निकै कमजोर कतारविरुद्ध नेपालको सुरुआत राम्रो हुन सकेन। नेपालले दोस्रो ओभरमा नै ओपनर काजल श्रेष्ठलाई ३ रनमै गुमायो। उनी एन्जेलिन मरेद्वारा कट एन्ड बोल्ड भइन्।
तर, दोस्रो विकेटका लागि सीता राना मगर र इन्दु बर्माले ९६ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे। तर, कतारकी सबिजा पनाएनले सीतालाई ३९ रनमा आउट गर्दै त्यो साझेदारी तोडिन्। सबिजाले ११.४ ओभरमा सीतालाई विकेटकिपर रिज्फा बानोद्वारा स्टम्पिङ गराइन्।
सोही ओभरमै नेपालकी कप्तान रुबिना क्षेत्री पनि खाता नखोल्दै रनआउट हुन पुगिन्। ३३ बल खेलेकी सीताको इनिङमा पाँच चौका थियो। तर,एक छेउबाट इन्दु बर्माले समालिएर ब्याटिङ गर्दै नेपालको इनिङ उकासिन्।
रिटायर्ट हर्ट हुनुअघि इन्दुले ५५ रनको योगदान गरिन्। इन्दुले ४७ बलमा पाँच चौका हिर्काइन्। उनी १७औं ओभरको अन्तिम बलमा हिटायर्ट हर्ट हुँदै मैदानबाट बाहिरिएकी थिइन्। नेपालले चौथो विकेट पनि रनआउटकै रूपमा सरिता रानामगरलाई २१ रनमा गुमायो। १९.४ ओभरमा आउट भएकी सरिताले २१ बलमा दुई चौका हिकाइन्।
कतारका सात खेलाडीले बलिङ गरे पनि सफलता पाउन सकेनन्। मरे र पनाएनले मात्र विकेट लिए। नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ। ट्वान्टी–२० क्रिकेटमा १४औं वरीयतामा रहेको नेपालसँगको खेलपछि मात्र कतारले विश्ववरीयता प्राप्त गर्नेछ।