कतारविरूद्धको टी२० सिरिज नेपालद्वारा ‘क्लिनस्विप’

  डेटूडे खबर डेस्क
  ०२ मंसिर २०७८

                            

जनकपुरधाम, ०२ मंसिर । कतारविरूद्धको तीन टी२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ‘क्लिनस्विप’ गरेको छ। बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज ३–० ले ‘क्लिनस्विप’ गरेको हो।

यसअघि नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरिसकेको थियो। नेपाल पहिलो खेलमा ११९ रन र दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो।

नेपाली महिला टिमले पहिलो अन्तर्राष्ट्रिय टी२० सिरिज क्लिनस्विप गर्दै जितेको इतिहास रचेको छ।

१६५ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ७ विकेट गुमाएर ५५ रन  मात्र जोड्न सक्यो।

कतारका लागि अलीना खानले १९ रन र कप्तान आयसाले १३ रनको योगदान गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कतारका चार ब्याटरलाई नेपालले रनआउटको सिकार बनाएको थियो। नेपालका सबनम राई, सरस्वती चौधरी र कप्तान रुबिना क्षेत्रीले १-१ विकेट लिए। 

दोहामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १६४ रन जोड्यो।

नेपालका लागि सीता रानामगरले नटआउट ८२ रन जोडिन्। नेपालका लागि टी२० मा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएकी सीताले ७२ बलमा ७ चौका प्रहार गरिन्।

ज्योती पाण्डेले २४ रन र डोली भट्टले १२ रनको योगदान दिइन्। यस्तै सरिता मगर  १७ रनमा अविजित रहिन्। यस्तै, ओपनर काजल श्रेष्ठ ७ रनमा आउट भइन्। 

नेपालले टी२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको हो। 

विश्वकप छनोट आगामी सोमबारदेखि यूएईमा सुरु हुँदैछ। छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट