महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
डेटूडे खबर डेस्क
०७ मंसिर २०७८
जनकपुरधाम, ०७ मंसिर । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ ।
नेपालले अब ग्लोबल छनौटमा पुग्न आफ्नो बाँकी चारवटै खेल जित्नुपर्ने हुन्छ भने हङकङले आफ्नो चार खेलमध्ये एकमा हार व्यहोर्नुपर्ने हुन्छ ।
नेपालले ९ गते कुवेतसँग, १० गते मलेसियासँग र १२ गते युएईसँग खेल्ने कार्यक्रम छ ।
यसअघि हिजोको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गर्यो ।
हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रनको योगदान गरिन् । यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको थियो ।
नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे । ६ टोली सहभागी छनोटमा विजेता एक टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।