ग्रीसमा ६० वर्ष उमेर पूरा गरेका नागरिकले कोरोना विरुद्धको खोप नलगाएमा जरिवाना

डेटूडे खबर डेस्क
१५ मंसिर २०७८
ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ ।
खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी मध्य जनवरीदेखि जरिवाना लगाइने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले घोषणा गर्नुभएको छ ।
यसरी जरिवाना वापत उठाइएको रकम ग्रीकको स्वास्थ्य प्रणाली सुधारका लागि प्रयोग गरिने पनि उहाँले बताउनु भयो । ग्रीसमा पछिल्लो समय कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने दर बढेको छ ।
यहाँका १ करोड १० लाख जनसंख्या मध्ये झण्डै ६३ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । यहाँका ६० वर्ष माथिका ५ लाख २० हजारले कोरोना विरुद्धको खोप लगाएका छैनन् ।
६० वर्ष माथिका नागरिकलाई आगामी जनवरी १६ देखि अभियानकै रुपमा खोप लगाइने भएको छ । व्यक्तिको सुरक्षाका लागि खोप लगाइने भएकाले आनाकानी गरेमा जरिवाना लगाइने गरी संसदबाट विधेयक नै पारित गरी लागू गरिने तयारी छ ।