२४ घण्टामा काेराेना सङ्क्रमण दर २ प्रतिशतभन्दा तल झर्याे
डेटूडे खबर डेस्क
०१ पौष २०७८
जनकपुरधाम, ०१ पुस । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा एक दशमलव ६६ प्रतिशत अर्थात् एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएयता आज बिहीवार पहिलो पटक सङ्क्रमण दर सबैभन्दा कममा झरेको हो । यस्तै थप दुई सय ६७ जनासँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख आठ हजार ८३ जना पुगेको छ । थप दुई जनासहित सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ६७ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार जनाभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । याेसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९४ लाख ६८ हजार चार सय ८९ पुगेको छ । यस्तै अहिलेसम्म दुई करोड १२ लाख ३८ हजार ६ सय २३ मात्रा खोप लगाइएकाे मन्त्रालयले जनाएको छ ।