सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गयाे
डेटूडे खबर डेस्क
०४ पौष २०७८
जनकपुरधाम, ०४ पुस । सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । गोलबजार नगरपालिका–६ मा गएराति पौने ८ बजेतिर दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको र एक जना घाइते भएका प्रहरीले जनाएको छ । झडपका क्रममा छुरा प्रहार हुँदा २६ वर्षका रामकुमार सदाको ज्यान गएको हो। सदाको आरके मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
झडपमा गम्भीर घाइते भएका निकेश सदाको उपचार भइरहेको छ । दुई पक्षका ६/७ जनाबीच झडप भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले जाँडरक्सी खाएर यत्तिक्कै झगडा गरेका हुन सक्ने प्रहरीले जनाएको छ। यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड आज बिहान केहीबेर अवरोध गरेका थिए । अहिले भने सामान्य रुपमै गाडी चलिरहेका छन् । घटना भएको ठाउँ वरपर प्ररहीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
