ज्येष्ठ नागरिक दिवस : सहुलियत र सुविधाको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता
डेटूडे खबर डेस्क
११ पौष २०७८
जनकपुरधाम, ११ पुस । सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाका भत्ताका रुपमा एक सय रुपैयाँ प्रदान गर्न थालिएको थियो । सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक गाडीमा आरक्षण, भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सहुलियत र सुविधाको व्यवस्था गरेको छ । तर सेवासुविधाको प्रभावकारी कार्यान्वयन हुन नसकेको ज्येष्ठ नागरिकको गुनासो छ ।
नेपालमा कुल जनसङ्ख्याको नौ प्रतिशत ज्येष्ठ नागरिक छन् । हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाने गरेको एजिङ नेपालले जनाएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा निहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि सामूहिक प्रयास गर्न सबैलाई आग्रह गर्नुभएको छ । ज्येष्ठ नागरिकलाई घर, परिवार एवम् समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न सके मात्र नाराले सार्थकता पाउने उहाँको भनाइ छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अग्रज मात्र नभइ मार्गदर्शक र गौरवका प्रतीक रहेको बताउनुभएको छ । हाम्रो संस्कार अनुसार आफूभन्दा ठूलालाई सम्मान र आदर गर्ने व्यवहारलाई अक्षुण्ण राख्नु सबैको कर्तव्य भएको स्मरण गर्नुभएको छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले कानुनी व्यवस्था अनुसार ज्येष्ठ नागरिकलाई स्वास्थ्य, यातायात जस्ता सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने समेत बताउनुभएको छ ।
