कोरोना फैलाउन सहयोग गरेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता

डेटूडे खबर डेस्क
१७ माघ २०७८
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ ।
कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै उनीविरुद्ध परेको उजुरी दर्ता भएको हो । संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् पठाएको उजुरी सोमबार दर्ता भएको हो ।
ओली आफू कोरोना संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको आरोप उनीहरुको छ ।उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो । विधिको शासनलाई अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम ओलीलाई यथाशीघ्र कारबाही गर्न निवेदनमा माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि एक आदेश जारी गरेको थियो । आदेशमा कोरोनाको लक्षण देखिए पनि ५ दिन क्वारेन्टिनमा बस्न भनिएको छ ।