महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने
.jpg)
डेटूडे खबर डेस्क
१० फाल्गुण २०७८
जनकपुरधाम । पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिका अवसरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ ।
पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।
उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने उहाँले सुनाउनुभयो । पशुपतिनाथको मुख्य क्षेत्रमा भने बिजुली बत्तीसँगै फूलको समेत सजावट गरिने भएको छ ।
महाशिवरात्रि पशुपति क्षेत्रमा मनाइने जात्रा पर्वमध्ये मुख्य मानिन्छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचनअनुसार महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गरेको छ । पशुपति क्षेत्रमा आउने भक्तजनलाई विशेष सुविधा दिने गरी कोषले तयारी अघि बढाएको छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देशविदेशबाट लाखौँ भक्तजन आउने गर्छन् । हजारौँको सङ्ख्यामा साधुसन्तको आगमन पनि यस अवसरमा हुने गर्छ । पशुपति क्षेत्रमा फागुन लागेदेखि नै साधुसन्तको चहलपहल बढ्न थालेको छ ।