पर्सामा मोटरसाइकल चोरीका २९ वटा उजुरी दर्ता

डेटूडे खबर समाचारदाता
१३ फाल्गुण २०७८
पर्सा — बाराको परवानीपुर गाउँपालिका–३ बस्ने नीरञ्जन रौनियारको प्रदेश २–०३–००७ प ८३०५ नम्बरको मोटरसाइकल फागुन ५ मा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको पार्किङस्थलबाटै चोरी भयो । प्रहरीले अनुसन्धानको क्रममा उक्त मोटरसाइकल चोरी गरी वीरगन्ज महानगरपालिका–२५ का राजन पटेलको घरमा लुकाइछिपाइ राखेको र मोटरसाइकलको पार्टपुर्जा खोली वीरगन्ज–३ का मोहम्मद हस्मोदिन मियाँले आफ्नो ना८प १०८३ नम्बरको मोटरसाइकलमा जडान गरेको खुल्यो ।
प्रहरीले मियाँको घरबाट उनको मोटरसाइकल र पटेलको घरबाट चोरी भएको मोटरसाइकल बरामद गरी दुवैलाई पक्राउसमेत गर्यो । यसै गिरोहमा संलग्न अर्का व्यक्ति वीरगन्ज–२४ का दिलीपकुमार चौधरीलाई समेत प्रहरीले मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो । पुस महिनायता बिहीबारसम्ममा जिल्ला प्रहरी कार्यालय पर्सामा मोटरसाइकल चोरीका २९ वटा उजुरी दर्ता भएका छन् । ४५ जना मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन् भने ३३ मोटरसाइकल बरामद भएको छ ।