मन्त्रालयमा मन्त्री न कर्मचारी

  डेटूडे खबर डेस्क
  १४ फाल्गुण २०७८

                            

धनुषा — मधेस प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको कार्यकक्ष शुक्रबार सुनसान थियो । मन्त्रालयमा एक जना कार्यालय सहयोगी मात्र थिए । मन्त्री यादव धेरैजसो काम आफ्नो निवासबाटै गर्छन् । भेटघाट गर्न आउनेहरू पनि उतै पुग्छन् ।

सोही मन्त्रालयकै भवनमा रहेको खानेपानी तथा ऊर्जा विकास मन्त्रालय पनि सुनसान थियो । खानेपानीमन्त्री ओमप्रकाश शर्मा अधिकांश समय गृहजिल्ला वीरगन्जमै बस्छन् । मन्त्रालयमा कर्मचारी अभाव हुँदा काम पर्दा मात्रै उनी जनकपुर आउँछन् । उनका स्वकीय सचिव सुजित मिश्र र कार्यालय सहयोगी मन्त्रालय कुरेर बस्छन् । मन्त्रालयमा कर्मचारीका रूपमा एक जना सचिव, इन्जिनियर एक जना र कार्यालय सहयोगी ३ जना मात्रै रहेको स्वकीय सचिव मिश्रले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयको लेखा अधिकृतले नै खानेपानी मन्त्रालयको आर्थिक प्रशासन सम्हाल्छन् । कर्मचारीका लागि मुख्यमन्त्री कार्यालयलाई पटकपटक पत्राचार गर्दा पनि पूर्ति नभएको मिश्रले बताए ।

 प्रदेश सरकारमा नेपाली कांग्रेसको भागमा भौतिक, खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय छन् । शुक्रबार तीनै मन्त्रालयमा मन्त्री थिएनन् । उनीहरू पार्टीको जिल्ला अधिवेशनमा व्यस्त हुँदा मन्त्रालय आउनै छोडेको कर्मचारीहरू बताउँछन् । कानुन न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवले सचिव नहुँदा मन्त्रालयको बजेट तथा प्रशासन सञ्चालनमा समस्या रहेको बताए । काम नभएकै कारण यादव अधिकांश समय गृहजिल्ला सिरहामै बिताउँछन् । कर्मचारी नै नभएपछि खासै काम हुन नसकेको उनले बताए । निमित सचिवको जिम्मेवारी लिएर आएका उपसचिवले अख्तियारी पाएपछि बल्ल काम अगाडि बढ्ने भएको उनको भनाइ छ ।

मधेस भवनको एउटै भवनमा सामाजिक विकास, अर्थ, कानुन, न्याय तथा प्रदेशसभा मामिला, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र उद्योग, पर्यटन तथा वन मन्त्रालय छन् । पाँच मन्त्रालय अटाएको भवनमा आक्कलझुक्कल मात्रै मन्त्री भेटिन्छन् । शुक्रबार अर्थमन्त्री शैलेन्द्र साह, कानुनमन्त्री प्रमोद यादव र उद्योगमन्त्री शत्रुधन महतो भेटिए पनि प्रशासनिक फाँटका कर्मचारी थिएनन् ।

सामाजिक विकासमन्त्री नवलकिशोर साह विशेष कामले मात्रै मन्त्रालय आउने गरेको कर्मचारीहरू बताउँछन् । मन्त्रीले निवासमै बोलाएर काम गर्ने भएका कारण कर्मचारी पनि मन्त्रालयमा नियमित आउँदैनन् । मन्त्रीहरू निवासमै भेटघाट, प्रशासनिक काम र मन्त्रालयको महत्त्वपूर्ण छलफल गर्छन् । उनीहरू अधिकांश समय निर्वाचन क्षेत्रमा बिताउने, जनकपुर आए पनि निवासमै भेटघाट गर्ने, पार्टीको सभा–सम्मेलनमै सक्रिय हुने गरेका छन् ।

प्रदेशको उद्योग मन्त्रालयमा कार्यरत नेपाल मधेसी निजामती ट्रेड युनियनका उपाध्यक्ष सुजितकुमार झाले कर्मचारी मन्त्रालयमा समयमा नआउनु समस्या नै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट