मिथिलाको महाकुम्भ ‘मिथिला माध्यमिकी परिक्रमा’ सुरु,हनुमान नगरमा भक्तजनहरू जम्मा 

  डेटूडे खबर समाचारदाता
  १९ फाल्गुण २०७८

                            

धनुषा – मिथिलाको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा आज बिहीवारदेखि सुरु भएको छ । आज बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमा सुरु गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा भक्तजनहरू जम्मा भइसकेका छन् ।


मिथिला महात्म्यका अनुसार मिथिलामा वृहत्, मध्यमा र अन्तगृहसहित तीन वटा परिक्रमा हुने गर्छ । मध्यमा र अन्तगृहमा धेरै सङ्ख्यामा भक्तजन सहभागी हुने गरेका स्थानीयवासी बताउँछन । नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटरसहित कुल १ सय ३० किलोमिटरको परिक्रमाको प्रारम्भ कलाणेश्वरबाट हुन्छ ।


फागुन प्रतिपदाका दिन भक्तजनहरू कलाणेश्वर पुग्छन् । एक रातअघि नै अमावश्याका दिन जनकपुरको हनुमान नगरमा मिथिला बिहारीको डोलासँगै राति विश्राम गर्ने परम्परा छ ।
हनुमान नगरबाट कलाणेश्वर १३ किलोमिटर उत्तर पूर्वी क्षेत्रमा पर्छ । कलाणेश्वरबाट गिरिजास्थान डोला पुग्छ । १२ किलोमिटर दुरीमा रहेको त्यो ठाउँमा त्रेतायुगमा भगवान् राम र जानकीको पहिलो भेट भएको मानिन्छ ।


दोस्रो बास महोत्तरीको मटिहानीमा हुन्छ । तेस्रो दिन जलेश्वर, चौथो दिन मडै, पाँचौँ दिन ध्रुवकुण्ड, छैटौँ दिन कञ्चनवन, सातौँ दिन क्षीरेश्वरनाथ महादेवको दर्शन गर्दै पर्वता, आठौँ दिन धनुषा धाम, नवौँ दिन सतोषर, दशौँ दिन औरही, एघारौँ दिन करुणा, बाह्रौँ दिन बिसौल हुँदै कलाणेश्वरमा पुगेर परिक्रमाको पूर्णाहुति हुन्छ ।


१५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरू पूर्णिमा तिथिमा मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरू अन्तरगृहमा सहभागी हुने गर्छन् । परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा भने उल्लेख गरिएको छैन । भगवान् गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवलाई गरिएको परिक्रमालाई उत्सवको रूपमा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट