जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय आवश्यक: मुख्यमन्त्री राउत

डेटूडे खबर डेस्क
२२ फाल्गुण २०७८
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय सहकार्य आवश्यक रहेको बताएका छन् ।
महोत्तरीको बर्दीबासमा आयोजना गरिएको स्थानीयतहहरुका लागि नवप्रवर्तन साझेदारी कोष (आइपीएफ) कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जनप्रतिनिधि र कर्मचारीहरुबीच समन्वय र सहकार्य नभए सम्म विकास र समृद्धि सम्भव नरहेको बताए ।
जनताको आवश्यकता र मनोभाव बुझ्ने जनप्रतिनिधि एवं कार्यान्वयन प्रक्रियाका जानकार कर्मचारीहरु बीच तालमेल भए मात्रै प्रदेशले विकास र सुशासनमा फडको मार्न सफल हुने बताएका छन् ।
स्थानीय तहहरुको आर्थिक सबलीकरणका लागि सरकारले ल्याएको नवप्रवर्तन साझेदारी कोषले विकासका र सुशासनका साथै तीन तहका सरकारबीच समन्वय, सहकार्य एवं सहअस्तित्को कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका निर्देशक एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिवनाथ पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महोत्तरी, धनुषा, सिरहा र सप्तरीका जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत अधिकृत, योजना शाखाका प्रमुख सहितको सहभागिता रहेको थियो ।