अध्यक्ष र उपाध्यक्षले एक अर्कामाथि हातपात गरेको आरोप

  डेटूडे खबर समाचारदाता
  २३ फाल्गुण २०७८

                            

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले एक अर्कामाथि हातपात गरेको आरोप लगाएका छन् । १८ फागुनमा भएको आठौं गाउँसभाको विषयलाई लिएर अध्यक्ष प्रदीपकुमार जयसवाल र उपाध्यक्ष फुलमती देवी थरुइनबीच विवाद बढेपछि एकले अर्कोमाथि हातपात गरेको आरोप लगाएका हुन् ।

उपाध्यक्ष थरुइनले आफूलाई थाहै नदिई गाउँसभा गरेको विषयमा जानकारी माग्दा आइतबार गाउँपालिका कार्यालयमा अध्यक्ष जयसवालले आफूमाथि हातपात गरेको बताइन् । उनी आइतबार दिउँसो वीरगञ्जस्थित नारायणी अस्पतालमा समेत भर्ना भएकी थिइन् । अध्यक्षले धकेलेका कारण छातीमा चोट लागेको र देब्रे हातमा निलडाम देखिएको उपाध्यक्ष थरुइनको भनाइ छ ।

अध्यक्ष जयसवालले आफूलाई धकेलेर उपाध्यक्षको कार्यकक्षमा थुनेर राखेको थरुइनले बताइन् । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई फोन गरेपछि मात्रै एक जना कर्मचारीले ढोका खोलिदिएको उनको भनाइ छ ।

अध्यक्ष जयसवालले आफू निकट जनप्रतिनिधिसँग मिलेर लुकिछिपी गाउँसभा गरेको उपाध्यक्ष थरुइनले बताइन् ।

उपाध्यक्षसहित वडा नं २ का दुई जना वडा सदस्य, वडा नं १ को एक जना वडा सदस्य र वडा नं ४ को वडा अध्यक्ष र ४ जना वडा सदस्यलाई बेवास्ता गरेर अध्यक्ष जयसवाले काम गरेको वडा सदस्य चौधरीको भनाइ छ ।

गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले भने उपाध्यक्षले लगाएको आरोप सबै निराधार रहेको बताए । बरु उपाध्यक्ष थरुइनले नै आफूमाथि हातपात गरेको उनले बताए ।

उपाध्यक्ष थरुइनले अध्यक्ष जयसवालले हात छोडेपछि आफू चुप लागेर बस्न नसकेको प्रतिक्रिया दिइन् । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै जना तत्कालिन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन् । तर उनीहरुबीच कार्यकालको धेरै समय सम्बन्ध राम्रो हुन सकेन । जसका कारण गाउँको विकास निर्माणका काम प्रभावित बनेको स्थानीय बताउँछन् ।

 

अध्यक्ष जयसवालले गाउँसभाको विषयमा भन्दा पनि आगामी चुनावको विषयलाई लिएर उपाध्यक्ष थरुइन आवेशमा आएको प्रतिक्रिया दिए भने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले हातपात भएकोबारे प्रहरीमा उजुरी नआएको बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट