आफ्नै साथीलाई गोली प्रहार गरी फरार रहेका युवक पक्राउ

  डेटूडे खबर समाचारदाता
  २३ फाल्गुण २०७८

                            

 जनकपुरधाम । धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका(१९ शिवपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका(८ निवासी १८ वर्षीय मुकेश मुखियामाथि शनिबार राति गोली प्रहार भएको थियो ।

मुखियामाथि गोली प्रहार गरेको आरोपमा जनकपुरधाम १९ कै रुपेश यादवलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

यादवलाई भारततर्फ भाग्दै गरेको अवस्थामा नेपाल भारतको सीमाक्षेत्र धनौजी गाउँपालिका(४ बाट नियन्त्रणमा लिइएको बस्नेतले बताए । उनलाई पक्राउ गरी सोधपुछ गर्दा मुखियामाथि गोली प्रहार गरेको स्वीकारेको प्रहरीको भनाइ छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार राति आफ्नो मामाको किराना पसल अगाडि बसिरहेका मुखियामाथि पेस्तोलले गोली प्रहार गरिएको थियो । चिउँडोमा लागेको गोली घाँटीमा गएर अडकिएपछि उनलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएको छ ।

यादवले एक्कासी मुखियामाथि गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट