अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ७० जना महिला सम्मानित
डेटूडे खबर डेस्क
२४ फाल्गुण २०७८
जनकपुरधाम । ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलवार सिमावर्ती महिलाको समस्या विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधामको जिल्ला समन्वय समितिको सभाहलमा नेपाल भारत सिमा संवाद र क्लोथ बैंङ्क नेपालको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको छ ।
नारी दिवसको अवसरमा पत्रकार, अभियानी र विभिन्न क्षेत्रमा आवद्ध जम्मा ७० जना महिलाहरुलाई दोसल्ला ओढाएर टोकन अफ लभ प्रदान गरी सम्मान गरेको छ ।
नेपाल भारतको बेटी रोटी सम्बन्ध रहेको भारतको महिलाहरुले नेपालमा विवाह गरेर आए पश्चात नेपाल सरकारले धेरै महिलाहरुलाई नागरिकताबाट वञ्चित राखेको जसले गर्दा उक्त महिलाहरुले सामान्य मोबाइलमा प्रयोग हुने सिम कार्ड समेत खरिद गर्न नसक्ने तथा विभिन्न सरकारी काम वा प्रयोजन एवं राजनीतिक दलमा समेत आवद्ध हुन नसक्ने अवस्था रहेको नेपाल भारत सिमा संवाद र क्लोथ बैंङ्क नेपालका अध्यक्ष राजिव झाले बताए ।
नारी दिवसको अवसरमा नारीको समान हक अधिकारको कुरामा जोड दिदैँ महिलालाई अगाडी बढनको लागि शिक्षामा पहुँच अर्थात सम्पूर्ण महिला शिक्षित हुनुपर्ने, महिला र पुरुष एकै सिक्काका दुई पाटा हुन त्यही भएर समान व्यवहार र समान निर्णय लिने अधिकार सहित भेदभाव रहित समाज निर्माण गर्नुपर्छ त्यहाँ उपस्थित महिलाहरु बताएकि छिन् ।