सिराहा कांग्रेसमा विवाद 

  डेटूडे खबर समाचारदाता
  २६ फाल्गुण २०७८

                            


सिराहा — चुनावमा धाँधली भएको भन्दै मतदान बहिष्कार गरी परिणाम अस्वीकार गरेको संस्थापन इतरपक्ष समूहले समानान्तर जिल्ला कार्यसमिति घोषणा गरेपछि सिराहा कांग्रेसको विवाद चुलिएको छ ।


गत सोमबार भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संस्थापन इतरका सभापतिका प्रत्यासी रामसुन्दर चौधरी समूहले मतदान बहिष्कार र परिणाम अस्वीकार गरेको थियो ।


सोमबार भएको निर्वाचनमा एक हजार ४ सय २६ मत ल्याएर रामचन्द्र यादव विजयी भएको घोषणा गरिएको थियो । निर्वाचन अधिकृत सञ्जिव लामाका अनुसार करिब २ हजार ७ सय मतदातामध्ये २ हजार ४ सय ७३ मत खसेको थियो । १ सय ६० मत बदर भएको थियो । सभापतिका प्रत्यासी रामसुन्दर चौधरीले ८ सय ८७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लामाले जानकारी दिए ।


निर्वाचन परिणाम अस्वीकार गरेको असन्तुष्ट चौधरी पक्षको सदरमुकाम सिरहास्थित जिल्ला समन्वय समितिको समिक्षालय भवनमा बिहीबार बसेको भेलाले रामसुन्दर चौधरी नेतृत्वको प्यानललाई नै कार्यसमितिमा रुपान्तरण गरिएको छ । जिल्ला कार्यसमिति घोषणा गर्दै निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा समूहका रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णय गरेको छ । समानान्तार समिति गठन गरेका चौधरी पक्षले जिल्लाका पार्टीका सबै गतिविधिसमेत समानान्तर सञ्चालन गर्ने जनाएको छ ।


रामचन्द्र यादवले शक्ति र प्रहरी प्रशासनको आडमा निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको चौधरी पक्षको आरोप छ । उनीहरुले यो चुनाव रद्द गरेर नयाँ निर्वाचन सदरमुकाममा गरिनुपर्ने माग समेत गरेका छन् ।
विवादकैबीच दुई सयभन्दा बढी मतपत्र च्यातिएपछि चौधरी पक्षले मतदान रोक्न निर्वाचन अधिकृत लामालाई दबाब दिएका थिए । झडपमा कांग्रेस लहान नगर सभापति रासलाल राय घाइते भएका थिए । पुनःनिर्वाचनको माग गर्दै चौधरी पक्षका उम्मेदवारहरु मतदानस्थल छोडेर बाहिरिएका थिए ।


निर्वाचनमा कुनै धाँधली नभएको नवनिर्वाचित पक्षको दाबी छ । ‘चुनावमा कुनै धाँधली भएको छैन, यो आरोप मात्र हो,’ नवनिर्वाचित जिल्ला सचिव शैलेन्द्र यादवले भने, ‘पत्रकार सम्मेलन गरेर थप जानकारी गराउँछौं ।
सिरहामा संस्थापन पक्षकै रामचन्द्र यादव र रामसुन्दर चौधरी दुई खेमामा विभाजन भएपछि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । चौधरीलाई कोइराला र संस्थापन पक्षका केही नेताको साथ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट