सुनको मूल्य तोलाको एक लाख नाघ्यो

डेटूडे खबर डेस्क
०८ चैत्र २०७८
जनकपुरधाम । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु. ८०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार ८०० छ । यसको मूल्य सोमबार प्रतितोला रु. ९९ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले बढेर रु एक हजार ३९५ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।