नेपाल आयल निगम र आईओसीबीच गरिएको सम्झाैता २०२२ मार्चमा सकिँदै ,आईओसीका उच्च अधिकारीहरु नेपाल आए
डेटूडे खबर समाचारदाता
०९ चैत्र २०७८
काठमाडौँ — भारतबाट इन्धन आयात सम्झाैताको खाका तयार गर्न इन्डियन आयल कर्पोरेसन्स (आईओसी)का उच्च अधिकारीहरु नेपाल आएका छन् । आईओसीका बिजनेस डेभलपमेन्ट प्रमुख सन्जिव जेनको नेतृत्वमा बित्त विभाग प्रमुुख, आपूर्ति विभाग प्रमुखसहित ६ सदस्य टोली नेपाल आएको हो ।
भारतबाट इन्धन आयात गर्नका लागि नेपाल आयल निगम र आईओसीबीच ५/५ वर्षमा सम्झाैता हुन्छ । २०१७ मार्चमा गरिएको सम्झाैता २०२२ मार्चमा सकिँदैछ । सम्झाैता हुने विषय टुङ्गो लगाउन आईओसीका उच्च अधिकारीहरु नेपाल आएका हुन् ।
निगमका अनुसार २०१७ मा सम्झाैता गर्दा पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइसकेको थिएन । अहिले पाइपलाइनबाट डिजेल आयात हुन्छ । ती विषयहरु पनि सम्झाैतामा समेटिने छ । यी बाहेक कर्मचारीलाई प्राविधिक तालिम लगायतका विषयमा पनि छलफल भइरहेको जनाइएको छ । हाल आईओसीको सिलगुडी, बरौनी, बेतालपुर, गोन्डा, बथरा लगायत रिफाइनरीबाट नेपालका लागि इन्धन ढुवानी हुन्छ ।