आउँदाे स्थानीय तहकाे चुनावमा कुनै पनि पार्टीसँग तालमेल हुन सक्ने राजेन्द्र महताेले बताए

  डेटूडे खबर डेस्क
  १० चैत्र २०७८

                            

पर्सा – लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महताेले आउँदाे स्थानीय तहकाे चुनावमा कुनै पनि पार्टीसँग तालमेल हुन सक्ने बताउनुभएकाे छ । आज बिहीवार पर्साकाे वीरगञ्जमा चुनाव लक्षित गरी आयाेजना गरिएकाे प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले आवश्यकताअनुसार जिल्लाका नेताहरूले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिनुभयो ।

नेता महतोले भन्नुभयो, ‘गठबन्धन नै गर्नुपर्छ भन्ने चाहिँ होइन, त्यस्तै परे कुनै पार्टीसँग चुनावकाे समयमा गठबन्धन हुन सक्छ । हामीले गठबन्धनको राजनीतिका लागि बढी जोड गरेका छैनौँ । भविष्यमा आवश्यकताअनुसार गठबन्धनको सम्भावना रहेकाले कुनै पनि दलसँग गर्न सकिन्छ ।’

वरिष्ठ नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै नेता महतोले मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाउनुभयो । सत्ताका लागि मधेसी जनतालाई सहादत मात्र दिन लगाउने र मधेसवाद छैन भन्ने कुरा गलत रहेको उहाँकाे भनाइ छ ।

वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक, अधिकार दिलाउन पार्टी लड्दै गरेकाले त्याे नै मुख्य एजेन्डा रहेको पनि बताउनुभयो ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरूको सक्रियता बढ्न थालेको छ । दलहरूले पार्टी प्रवेशकाे कार्यक्रमदेखि वडा–वडामा प्रचारप्रसार कार्यालय स्थापना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट