सर्लाहीमा आगलागी हुँदा १३ घर जलेर नष्ट

  डेटूडे खबर डेस्क
  १२ चैत्र २०७८

                            

सर्लाही : सर्लाहीको धनकौल गाउँपालिका – ५, पासवान टोलमा आज दिउँसो आगलागी हुँदा १३ वटा घर पूर्ण रूपमा जलेका छन् । एउटा घरमा आंशिक क्षति पुगेको छ। दिउँसो १ बजेपछि स्थानीय प्रदीप पासवानको घरबाट अचानक सुरु भएको आगलागीले बस्तीका १३ वटा घर जलेर खरानी भएका हुन् ।

आगलागीमा परेर प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगनदेव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूरै जलेर नष्ट भएको धनकौल गाउँपालिका–५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिए। उनका अनुसार आगलागीबाट जलेका अधिकांश फुसको छानो भएका कच्ची घर रहेका छन्।

आगलागीबाट स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको छ। आगलागीका कारण प्रष्ट भइसकेको छैन। आज दिउँसो तीव्र गतिमा हावा चलेको समयमा आगलागी भएकाले धेरै क्षति हुन पुगेको वडाध्यक्ष महतोले बताए। आगलागी स्थानीयवासी, सुरक्षाकर्मीसहित सदरमुकाम मलङ्गवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए ।

उनले क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताए। आगलागीपछि अति विपन्न पीडितहरूको बिचल्ली भएको छ। पीडितहरूलाई तत्कालका लागि आफूले आफ्नै घरमा शरण दिएर राखेको वडाध्यक्ष महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट