गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
डेटूडे खबर डेस्क
१३ चैत्र २०७८
गर्भावस्थामा विशेषगरी बच्चा नचल्ने अथवा कम चल्ने, उच्च रक्तचाप, मधुमेह, मुर्छा पर्ने, योनिबाट रगत बग्ने, टाउको दुख्ने, तल्लो पेट अत्याधिक दुख्ने, शरीर कम्पन हुने, अत्यधिक बान्ता हुने, योनिबाट गन्हाउने पानी बग्ने, सुरु–सुरुमा पिसाबमा संक्रमण हुने, रक्तअल्पतालगायतका गम्भीर खालका लक्षणहरू देखा पर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. ताम्राकार बताउँछन् ।
यीमध्ये पनि उच्च रक्तचाप र मधुमेहको समस्या भएकी गर्भवती महिलाले विशेष ध्यान दिनुपर्छ । गर्भवती महिलामा उच्च रक्तचापको समस्या छ भने १५–१५ दिनको फरकमा ब्लडप्रेसर जाँच गरेर औषधि मिलाएर खानुपर्ने चिकित्सकहरू बताउँछन् । यदि ब्लडप्रेसरको नियमित चेकजाँच नगरी बेवास्ता गरेमा बच्चाको तौल कम हुने, गर्भमा रहेको बच्चामा अक्सिजन लिने क्षमता कम हुने, मुर्छा पर्ने र आमा बच्चा दुवैको ज्यान जोखिममा पर्ने सम्भावना हुन्छ ।
गर्भ रहेपछि कतिपय महिलालाई बान्ता हुने, वाकवाकी लाग्ने समस्या देखिन सक्छ । विशेषगरि अधिकांश गर्भवती महिलामा यस्तो समस्या देखिने पाटन अस्पतालकी चिकित्सक डा. अल्का सिंह बताउँछिन् । ‘गर्भावस्थामा हल्का बान्ता हुनु, वाकवाकी लाग्नु सामान्य हो,’ डा. सिंह भन्छिन्, ‘यदि तारन्तार बान्ता भएर गाह्रो भयो भने अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ । त्यसैले गर्भावस्थामा खानपानमा ध्यान दिने, चिल्लो पीरो कम खाने, थोरै खाने तर समय–समयमा खाइरहने, सुख्खा खानेकुरा जस्तै चना, बिस्कुटजस्ता खानेकुरा खाएर बान्ता कम गर्न सकिन्छ ।’ महिलामा गर्भ रहेपछि हर्मोन परिवर्तन हु्न थाल्छन् । त्यसैले धेरैजसो महिलालाई हर्मोनको गडबडीका कारण पनि बान्ता हुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पवन शर्मा बताउँछन्
सिन्धुपाल्चोककी १९ वर्षीया मिना थापा (नाम परिवर्तन)को महिनावारी रोकिएको केही समयपछि नै तल्लो पेट धेरै दुख्न थाल्यो । दुखाइ खप्न नसकेपछि उनी उपचारका लागि धुलिखेल अस्पताल पुगिन् । अस्पताल आउने बेलासम्म उनलाई पेटमा गर्भ छ भन्ने थाहा थिएन । उनको भिडियो एक्सरेलगायतका अन्य परीक्षण गर्दा डिम्बबाहिनी नलीमा गर्भ बसेर नली फुटेको देखियो । त्यही नली फुटेर पेटको दुखाइ भएका कारण धुलिखेल अस्पतालमा शल्यक्रियामार्फत नली फालियो । ती महिलाको शल्यक्रिया प्रा.डा. सुमनराज ताम्राकारको टोलीले गरेको थियो । अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य भैसकेको छ ।
केही महिनाअघि जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उच्च रक्तचाप भएकी गर्भवती महिला जाँच गर्नका लागि आइन् । उनलाई सुरुदेखि नै डा. रिता मरहठ्ठाको टिमले हेरिरहेको थियो । ती महिलाले रक्तचाप नियमित जाँच गरी औषधि खाइरहेकी थिइन् । उनको ब्लडप्रेसर सामान्य अवस्थामा आइसकेको थियो । ९ महिना लागेपछि उनी अस्पताल भर्ना भइन् । चिकित्सकको निगरानीमा रहँदा रहँदै पनि उनको गर्भमा रहेको शिशु खेर गयो । बच्चाको मृत्यु भएलगत्तै आमालाई मस्तिष्कघात भयो । उनको ब्रेनको पनि अप्रेशन भयो तर उनलाई बचाउन नसकिएको मरहठ्ठा बताउँछिन् ।
एक हप्ताअघि काठमाडौंकी २७ वर्षीया महिला गर्भ जाँच गर्न राजधानीको एक अस्पतालमा आइन् । सुरुमा गर्भ जाँच गर्दा चिकित्सकले उनलाई ४ महिना लागेपछि जाँच गर्नका लागि बोलाएका थिए । तर, लकडाउनका कारण उनी जाँच गर्न आइनन् र चिकित्सकले दिएको औषधि पनि नियमित खान छोडिन् । ६ महिनाको गर्भ जाँच गर्न आउँदा उनले बच्चा नचलेको चिकित्सकलाई सुनाइन् । त्यसपछि चिकित्सकले भिडियो एक्स–रे गरेर हेर्दा गर्भमा रहेको शिशुको मृत्यु भैसकेको थियो । पेटमा बच्चाको मृत्यु भैसक्दा पनि उनलाई थाहा भएन । त्यसपछि चिकित्सकको टोलीले हतार–हतार त्यो बच्चालाई निकाले । अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ ।
माथिका तीन प्रतिनिधि घटनाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य संवेदनशीलता देखाउँछ । गर्भवती र सुत्केरी अवस्था महिलाका लागि विशेष समय हो । यो बेलामा हुने स-साना गल्तीले आमा र बच्चामा स्वास्थ्य समस्या देखिन सक्छ । यसै पनि कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल विगत ३ महिनायता ठप्प छ । मानिसका दैनिक क्रियाकलाप बिथोलिएका छन् । यसको प्रत्यक्ष मारमा गर्भवती र सुत्केरी महिला परेको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रिता मरहठ्ठा बताउँछिन् ।
‘कोभिड–१९ को त्रास, लामो समयको लकडाउन, भौगोलिक कठिनाइ र यातायातको अभाव आदिका कारण गर्भवती महिलाहरूले नियमित जाँच गराउन पाएका छैनन्’, उनी भन्छिन्, ‘नियमित गर्भ जाँच नहुँदा बच्चा र आमाको स्वास्थ्य अवस्थाबारे थाहा हुँदैन । जसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।