सबैभन्दा बढी प्रयोगकर्ता भएका प्रमुख पाँच इन्टरनेट सेवा प्रदायक

  न्यूज डेस्क
  ३० पौष २०७९

                            

काठमाडौं- दिनप्रतिदिन इन्टरनेट सेवा प्रयोग गर्ने मानिसको संख्या बढ्दै गएकाे छ। अहिले हरेक क्षेत्रमा इन्टरनेट सेवा अपरिहार्य भइसकेको छ। इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या वृद्धि हुँदै गर्दा इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) पनि थपिँदै गएका छन्।

मुलुकमा अहिले ५८ वटा सेवा प्रदायकले इन्टरनेट सेवा उपलब्ध गराइरहेका छन्। आइएसपीले इन्टरनेट जडानका साथै इन्टरनेट सेवासँग सम्बन्धित अन्य धेरै प्रकारका सेवाहरू जस्तै वेबसाइट होस्टिङ तथा वेबसाइट डेभलपमेन्ट, सफ्टवेयर प्याकेज, इमेल एकाउन्ट, तथा डोमेन नेम रजिस्ट्रेसनलगायतका सेवा प्रदान गर्छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ असोजसम्मको एमआइएस (म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार आइएसपीका ग्राहक २४ लाख १३ हजार ३१४ पुगेका छन्।

ग्राहकले वायरलेस, केवल र फाइबरमार्फत सेवा लिइरहेका छन्। जसमा १६ हजार १६४ ग्राहकले वायरलेस, ८८ हजार ३ ग्राहकले केवल र २३ लाख ९ हजार १४७ ग्राहकले फाइबरबाट सेवा लिइरहेका छन्। यहाँ दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी प्रयोगकर्ता भएका पाँच आइएसपीको यहाँ चर्चा गरिएको छ:

वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेड

नेपालमा सबैभन्दा बढी ग्राहक संख्या सञ्जाल भएको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन हो। स्थापना भएको साढे दुई दशक बढी अवधिमा यस सेवा प्रदायकले लगभग सबै जिल्लामा सेवा विस्तार गरिसकेको छ।

दूरसञ्चार प्राधिकरणकाअनुसार वर्ल्डलिंक कम्युनिकेसनको ग्राहक संख्या ६ लाख ९० हजार ६०४ छ। जसमा १६७ वायरलेस, १८६ केवल र ६ लाख ९० हजार २५१ ग्राहकले फाइबरबाट सेवा लिइरहेका छन्। वर्ल्डलिंकबाट व्यक्तिगत र व्यावसायिक दुबै क्षेत्रलाई विभिन्न इन्टरनेट प्याकेजको साथमा नेट टिभी सेवा पनि लिन सकिन्छ।

नेपाल दूरसञ्चार कम्पनी

नेपाल दूरसञ्चार कम्पनीका प्रयोकर्ता पनि ठूलो मात्रामा रहेका छन्। दूरसञ्चार प्राधिकरणकाअनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रयोगकर्ताको संख्या २ लाख ९० हजार ६०४ रहेको छ। जसमा ८५ हजार ३३६ केवल र २ लाख ५ हजार ८९ फाइबरबाट सेवा लिने प्रयोगकर्ता रहेका छन्।

क्लासिक टेक

प्रयोगकर्ताको आधारमा क्लासिक टेक नेपालको तेस्रो मुख्य सेवा प्रदायक कम्पनीको रुपमा रहेको छ। क्लासिक टेकका प्रयोगकर्ताको संख्यामा २ लाख ४८ हजार ४४० रहेको छ। जसमा ७०५ ग्राहकले वायरलेस र २ लाख ४७ हजार ७३५ ग्राहकले फाइबरबाट सेवा लिइरहेका छन्।

भायनेट कम्युनिकेसन

भायनेट सन् १९९९ मा स्थापना भएको सेवा प्रदायक कम्पनी हो। ग्राहक संख्याको आधारमा चौंथो स्थानमा भायानेट इन्टरनेट सेवा प्रदायक कम्पनी छ। भायनेटका ग्राकको संख्या २ लाख ४४ हजार ८९५ रहेको छ। यसका सबै ग्राहकले फाइबरबाट सेवा लिइरहेका छन्।

सुबिसु केबलनेट प्रालि

सुबिसु केवल नेट सन् २००१ मा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी हो। यसका ग्राहकको संख्या २ लाख ४२ हजार ३३३ रहेको छ। यसका ४ हजार १३७ ग्राहकले वायरलेस, १ हजार २४० ग्राहकले केवल र २ लाख ३६ हजार ९५६ ग्राहकले फाइबरबाट सेवा लिइरहेका छन्।

यसका अतिरिक्त डिसमिडिया नेटवर्कको १ लाख ७० हजार ९०, वेब सफर नेपाल कम्युनिकेसन प्रालिको १ लाख १७ हजार ८८९ र टेकमाइन्ड्स नेटवर्कको १ लाख ८ हजार ९९१ ग्राहकसंख्या रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट