अर्थमन्त्री पुनको प्रतिबद्धता- नयाँ चरणको आर्थिक सुधार गरेरै छोड्छु

  डेटूडे खबर डेस्क
  २९ जेठ २०८१

                            

काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिबद्धता जनाएका हुन् । उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र, कस्तो कस्तो खालको भूमिकामा रहन्छ ? भन्ने कुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने बताए । 

‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ । त्यो बहस हुँदै आएको थियो । यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौं,' उनले भने ।
अर्थमन्त्री पुनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताए । उनले स्वदेशमै रोजगारको अवसर बनाउन सके अधिकांश नेपालीहरू स्वदेशमै काम गर्ने वातावरण बन्ने बताए ।

अर्थमन्त्री पुनले सरकार फेरिने कुरा स्वाभाविक भए पनि नीतिको निरन्तरता हुन आवश्यक रहेको बताए । उनले सरकारमा रहेका दल र विज्ञहरू राखेर मात्र नभई उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताका लागि दृष्टिकोणमा प्रस्तुत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट