छिमेकि मुलुक चिनसँग पनि विद्युत व्यापारको लागि कुरा चल्दै

  न्यूज डेस्क
  २० असोज २०८१

                            

काठमाडों । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत् व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएको छ।

आइतबार मन्त्रालयमा मन्त्री र सचिवका बिचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता ठुलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत् व्यापारका लागि कुरा गरिरहेको बताएको हो। उनले अन्य छिमेकी राष्ट्रहरूले आफैँ विद्युत् उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरूप आग्रह गर्नुपर्ने बताए।

उनले चीनले विद्युत् किन्ने कुरामा आफू आशावादी रहेको बताए। उनले आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताए। मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानी पनि अन्ततः राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नु नहुने बताए।

उनले भने– ‘जलविद्युतमा व्यक्ति, संस्था, निजी संस्थाहरू जजसले लगानी गरे पनि २५-३५ वर्ष पछाडि मुलुकको हुने हो । ६४ खर्ब २८ हजार मेगावाट विद्युत् उत्पादन गर्नलाई लगानी गर्दै छौँ भनेर जुन फिगर भनिएको छ, त्यो पूर्ण रूपमा नेपाल सरकारको हुने हो। अहिले हामीलाई १० खर्बको चालु खर्च र ५-७ खर्ब जुटाउन हम्मे हम्मे छ। ऋण छ । विद्युत् उत्पादनका लागि सरकारको सम्पत्ति हो यो  भोलि सबै नेपाली धनी हुने हो र प्रतिव्यक्ति आय बढाउने हो भनेर तल्लो तहको मान्छेसम्म बुझाउने दायित्व पनि हाम्रै हो। बंगलादेशसँगको सम्झौताले अत्यन्त ठुलो उपलब्धि भएको छ। हामीले चीनसँग पनि कुरा गरिराखेका छौँ । सबै छिमेकीहरूले किन्छन्, उनीहरू आफैँले पनि उत्पादन गरिरहेछ, फेरि पनि किन्छ। तपाईँहरूले थोरै किन्दा हामीलाई राहत हुन्छ भने तपाईँहरूले किन नकिन्दिने भनेर उनीहरूसँग आग्रह गर्दा नहोला जस्तो मलाई लाग्दैन। म आशावादी प्रकारको मान्छे पनि हो  आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नुपर्ने छ।’

उनले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनी हुने गरी मोडिलाटी बनाउनुपर्ने बताए। पैसा नहुनेहरूले पनि जलविद्युतमा लगानी गर्न सक्ने अवस्था बनाउनुपर्नेमा उनको जोड छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट