स्रोत नखुलेको पाँचलाख रुपैयाँसहित १ जना नियन्त्रणमा
डेटूडे खबर डेस्क
२३ माघ २०८२
रौतहट ।
रौतहट प्रहरीले स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। नियमित सवारी चेकजाँचका क्रममा उक्त रकम बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार गौर नगरपालिका–३ स्थित सडकखण्डमा शुक्रबार बिहान करिब १०स्३० बजे चेकजाँच भइरहेको थियो। सोही क्रममा गौर भन्सार कार्यालयबाट बी।पी। चोकतर्फ जाँदै गरेको विआर ३० यु ७२४७ नम्बरको मोटरसाइकल शंकास्पद देखिएपछि रोकी जाँच गरिएको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक गौर नगरपालिका–१ निवासी ४४ वर्षीय राकेश प्रसादको साथबाट प्लास्टिकको झोलाभित्र लुकाइ छिपाइ राखिएको नेपाली नगद ४ लाख ९९ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
बरामद रकमको स्रोतबारे आवश्यक कागजात माग्दा उनले सन्तोषजनक विवरण पेश गर्न नसकेको प्रहरीको भनाइ छ। त्यसपछि नगद रकम, मोटरसाइकल र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको डिएसपी बस्यालले जानकारी दिए।
