दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय खेलमा भारतलाई ३१ रनले हरायो
डेटूडे खबर डेस्क
०६ माघ २०७८
जनकपुरधाम । दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो ।
दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो । भारतका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । धवनले ७९, कोहलीले ५१ र शार्दुल ठाकुरले ५० रन बनाए ।
यस्तै, श्रेयस आयरले १७ , रिसब पन्तले १६, जस्प्रित बुम्राहले १४ र कप्तान केएल राहुलले १२ रन जोडे । दक्षिण अफ्रिकाका लुङ्गी एनजिडी, ताब्रेज शाम्सी र एडिलेले दुई-दुई विकेट लिए भने एडेन मार्क्रम र केशव महाराजले एक-एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले १ सय २९ रन र कप्तान टेम्बा बाभुमाले १ सय १० रनको शतकीय पारी खेले । यस्तै, क्विन्टन डी कक २७ रन जोडे । भारतका जस्प्रित बुम्राहले दुई तथा रविचन्द्र आश्विनले एक विकेट लिए ।
जितसँगै तीन खेलको श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।