सर्वोच्चको आदेशपछि व्यक्तिहत्याको मुद्दा अब सिभिल कोर्टमै

डेटूडे खबर डेस्क
१५ कार्तिक २०७८
जनकपुरधाम । सर्वोच्च अदालतले व्यक्तिहत्याको मुद्दा सैनिक अदालत दिन चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको आइतबार बसेको एकल इजलासले यस्तो निर्णय गरेको हो । सर्वोच्चको सो आदेशपछि अब सैनिक जवान गंगाधर ढकालविरुद्धको व्यक्तिहत्यासम्बन्धी मुद्दा सिभिल कोर्टमा चल्नेछ । यसका लागि सेनाले ढकालविरुद्धको व्यक्तिहत्या सम्बन्धित मुद्दा सैनिक अदालतबाट झिकेर सिभिल कोर्टमा पठाउनुपर्नेछ । गत १ भदौमा जिल्ला अदालत चितवनले ढकालविरुद्ध हत्यासम्बन्धी मुद्दा सैनिक अदालतलाई दिन आदेश गरेको थियो । जिल्लाको उक्त आदेशलाई उच्च अदालत हेटौँडाले समेत सदर गरेको थियो ।
सर्वोच्च आदेशपछि जिल्लासँगै उच्च अदालत हेटौँडाले गरेको आदेशसमेत बदर भएको छ । गत ७ साउनमा धादिङ नीलकण्ठ– ७ का भरत गुरुङलाई गोली हानी हत्या गरेको अभियोगमा ढकाल पक्राउ परेका थिए । ढकाललाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको थियो । मुद्दाको अनुसन्धान पनि जिप्रका चितवनले नै गरेको थियो । जिल्ला अदालत चितवनमा थुनछेकको बहस चलिरहेका वेला सेनाका प्राड विवाकका मेजर सरोज रेग्मी इजलासमा प्रवेश गरेका थिए । सोही बखत जिल्ला अदालत चितवनले ढकालको मुद्दा सैनिक अदालतलाई दिन आदेश गरेको थियो ।
जिल्ला अदालत चितवनको आदेशले फौजदारी न्याय प्रणालीमा अतिक्रम गरेको दाबी गर्दै जिल्ला सरकारी वलिक कार्यालय चितवनले उच्च अदालत हेटौँडामा निवेदन दिएको थियो । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सरकारी वकिल कार्यालय निवेदन बोकेर सर्वोच्च आएका थिए । सोही निवेदनउपर आइतबार बदर भएको थियो ।
नयाँ पत्रिकाबाट