मैथिली भाषा राष्ट्रकै गहना : गृहमन्त्री खाँण

डेटूडे खबर डेस्क
२३ कार्तिक २०७८
जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले मैथिली भाषा मधेशका मात्र नभई राष्ट्रकै गहनाको रुपमा रहेको बताएका छन् । मैथिली विकास कोषले मंगलवार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले मैथिली भाषा, पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेकाले यो मैथिली भाषाका लागि मात्र नभई राष्ट्रकै लागि गहना रहेको बताए । 'पहिला एउटै भाषा एउटै भेष भन्ने चलन थियो,' गृहमन्त्री खाँणले भने, ‘संघीयतापश्चात अब एउटै भाषा, एउटै भेष रहन सक्दैन । सबै भाषा, सबै भेष र विविध संस्कृतिले भपरिपूर्ण छन् ।’
विगतमा बहुभाषिक विकासको लागि विभिन्न निर्णयहरू भएको बताउँदै मन्त्री खाँणले अब मैथिली भाषाको विकासका लागि पनि ठोस कदम चाल्ने बताए । यसैबीच कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघले भारतबाट मालसमान आपुर्ति गर्दा झुठो मुद्दा लगाउने गरेको भन्दै मन्त्री खाँणलाई ज्ञापनपत्र समेत बुझाएका थिए । मन्त्री खाँणले कुनै पनि व्यवसायीको व्यवसायीक स्वतन्त्रता हनन् हुने काम नगर्न प्रहरीलाई निर्देशन समेत दिए ।
उद्योगी व्यवसायीहरूलाई बुझेर त्यसमा सहजता प्रदान गरिदिन प्रदेशका प्रहरी प्रमुखसहित स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा समपन्न कार्यक्रममा मन्त्री खाँणलाई सम्मान गरिएको थियो ।