महिला हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति भण्डारी

  डेटूडे खबर डेस्क
  ०९ मंसिर २०७८

                            

जनकपुरधाम, ०९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ ।

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उहाँले ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गर्नुभयो । 

'नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ, परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणले तीव्रता पाएको छ', सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले समाजमा विद्यमान विकृति र विसङ्गतिविरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै महिलालाई आर्थिकरूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन सक्नुपर्ने बताउनुभएको छ ।

सन्देशमा लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट