विकृति र विसङ्गतिको अन्त्य गर्न नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति
डेटूडे खबर डेस्क
१९ मंसिर २०७८
काठमाडौँ, १९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा रहेका विकृति र विसङ्गतिको अन्त्य गर्न सम्बद्ध नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सामुदायिक बन उपभोक्ता महासङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजमा अझै पनि लैङ्गिक हिंसा विभिन्न रूपले रहिरहेको भन्नुहुँदै त्यसको अन्त्यका लागि नीति र कानुनको निमार्ण र त्यसको प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रपति भण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि महिला र पुरुष दुवै हातेमालो गरेर अघि बढ्नुपर्ने भन्नुहुँदै बनेका कानुन र नीतिहरूको समुदाय स्तरमा छलफल गरेर सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले सामुदायिक बन उपभोक्ता महासङ्घले आफ्नो विधानमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको बताउनुभयो ।
अध्यक्ष भारतीले महिला हिंसा अन्त्यका लागि महिलाहरूलाई आर्थिक आय आर्जनमा संलग्न गराउनुपर्ने बताउनुभयो ।