मुलुकको विकासमा साना व्यवसायीको भूमिका अहम: मु्ख्यमन्त्री राउत
डेटूडे खबर डेस्क
१४ पौष २०७८
जनकपुरधाम, १४ पुस । मुख्यमन्त्री लालबाबु राउतले मुलुकको समग्र विकासमा साना व्यवसायीको भूमिका अहम रहेको बताउनु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले मुलुकको कुल ग्राहस्त उत्पादनमा साना व्यवसायीले ठुलो योगदान गर्दै आए पनि राज्य संचालन गर्ने पक्षबाट उपेक्षा भएको उल्लेख गर्नुभयो ।
नीति निर्माताहरुले साना व्यवसायीहरुको भावना समेटन नसकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ती समस्याहरुलाई समेटने प्रयास गरे पनि विभिन्न समस्याहरुले योजना अगाडी बढाउन नसकेको बताउनुभयो ।
प्रदेश सरकारले प्रदेशमा उद्योग व्यवसायलाई प्रोत्साहन गर्न प्रदेश उद्योग ऐन ल्याई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले बाँकी रहेको सम्बन्धित कानूनहरु छिट्टै ल्याएर साना उद्योगीहरुलाई सहयोग हुने वातावरण निर्माण गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रदेश सरकारले जनकपुर–ढल्केवर, गौर–गरुडा, विरगंज–ठोडी सहितको औद्योगिक करिडोरको रुपमा निर्माण गर्ने नीति ल्याए पनि कार्यान्वयन हुन नसकेको प्रति दुःख व्यक्त गर्नु हुँदै मुख्यमन्त्री राउतले ती योजनाहरुलाई छिट्टै कार्यान्वयनमा ल्याउने समेत बताउनु भयो ।
संघीय सरकारले ल्याएको योजनाहरु पनि हेर्ने मात्र भएको उल्लेख गर्नु हुदै उहाँले पथलैयामा निर्माण गरिएको सेज आवश्यक नीति नहुँदा संचालनमा आउन नसक्नु दुःखद रहेको बताउनु भयो ।
महासंघका अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधामका पूर्व मेयर बजरंग प्रसाद साह, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कर्ण, महासंघका पदाधिकारीहरु सहितले आ–आफनो मन्तव्य राख्नु भएको थियो ।