जनकपुरधाम । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कलेजमा आज (शुक्रबार)देखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ। कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द रहेका कलेज आजदेखि भौतिक उपस्थितिमै सञ्चालन हुन लागेका हुन् ।
कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाएर विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न लागिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।
त्रिवि कार्यकारी परिषद्को २७ भदौमा बसेको बैठकले सर्तकता अपनाउँदै विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
आजदेखि सम्बन्धित स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका देशैभरीका कलेज सञ्चालन हुँदैछन्।
नेपालमा त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या एक हजार चार सय २५ छन्। जसमा एक सय ३७ आङ्गिक, पाँच सय आठ सामुदायिक र सात सय ८० निजी क्याम्पस सञ्चालनमा रहेका त्रिविले जनाएको छ।