बडादशैंको दोस्रो दिन आज : देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै
डेटूडे खबर डेस्क
२२ असोज २०७८
जनकपुरधाम । बडादशैंको दोस्रो दिन आज शुक्रबार नवदुर्गा मध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइदैछ । आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा ब्रह्मचारिणीको स्तुति गरी मनाइने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाताको स्तुति गरिन्छ ।
त्यस्तै छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म यो पर्व मनाउने चलन छ । नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी जमरा राखेपछि बडादशैं शुरु भइसकेको छ ।
दशैंको दोस्रो दिन आज जनकपुरधाम सहित देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठहरु एवं दशैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गर्ने गरिन्छ । राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा हुने गर्दछ ।