आईपीएलमा कोलकाताले राजस्थानलाई ८६ रनले हरायो
डेटूडे खबर डेस्क
२२ असोज २०७८
जनकपुरधाम । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८६ रनले हराएको छ ।
गएराति भएको खेलमा कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ४४ रन बनाए । शिवम् डुबेले १८ रन बनाए ।
कोलकाताका शिवम् माभीले ४ तथा लकी फर्गुसनले ३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । कोलकाताका शुवमन गिलले ५६ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।
भेन्काटेस इयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए । राजस्थानका क्रिस मोरिस, चेतन शाकरिया, राहुल टेवाटिया र ग्लेन फिलिप्सले १/१ विकेट लिए । हिजो भएको अर्को खेलमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।