बालबालिकाका लागि कोभिडविरुद्धको खोप ल्याउन सरकारको गृहकार्य
डेटूडे खबर डेस्क
२७ असोज २०७८
जनकपुरधाम । सरकारले बालबालिकालाई कोभिड विरुद्धको खोप ल्याउने तयारी सुरु गरेको छ ।
पुस मसान्तसम्म बालबालिकाकै लागि एक करोड खोप ल्याउने लक्ष्य राखेको सरकारले चैतसम्म सबै नेपालीलाई खोप लगाउने गरी कार्ययोजना तयार पारेको छ ।
कार्ययोजना अनुसार बालबालिकाका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप ल्याइने छ । प्रस्तावित खोपको मात्रा मध्ये केही अनुदानमा र केही आफैंले खरिद गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६४ लाख ६८ हजारले पूर्ण खोप लगाइएका छन् । ८३ लाख ६१ हजारले पहिलो मात्रा खोप लगाएका छन् ।
आगामी चैतसम्ममा सबै नागरिकलाई पूर्ण खोप लगाइसक्ने योजना अनुसार सरकारले बालबालिकाको लागि पनि खोप ल्याउने तयारी सुरु गरेको हो ।