कोप-२६ : नेपालले जलवायु न्याय र क्षतिपूर्तिको कुरा उठाउने

डेटूडे खबर डेस्क
१४ कार्तिक २०७८
जनकपुरधाम । स्कटल्यान्डकाे ग्लास्गोमा आजदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले पनि आफ्नो मुद्दा उठाउँदैछ ।
जलवायु परिवर्तनका कारण विभिन्न विपद् सामना गर्न बाध्य भएको नेपालले गरिब देशहरूलाई परेको हानि-नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने आवाज उठाउने भएको हो । यस्तै पग्लिरहेको हिमालका कारण नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि नेपालले विश्व समुदायसँग सहकार्य गर्न आह्वान गर्ने भएको छ ।
नेपालसहित अति कम विकसित देशहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा जलवायुजन्य घटनाबाट हुने हानि-नोक्सानी न्यूनीकरण तथा क्षतिपूर्तिको मुद्दालाई मुख्य रुपमा उठाउन लागेका हुन् । नेपालको तर्फबाट सम्मेलनमा प्रधानमन्त्रीस्तरबाट १२ वर्षपछि सहभागिता हुन लागेको हो ।
सम्मेलनमा जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिहरूसँग अब अनुकूलनले मात्र नथेग्ने गरी क्षतिहरू हुन थालेका र तिनको निराकरण गर्ने क्षमता र स्रोत आफूहरूसँग नभएकाले त्यसका लागि विश्व समुदायसँग आह्वान गरिने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धी निकायको प्रतिवेदनअनुसार खासगरी कार्बन उत्सर्जनका कारण बढ्दो तापक्रमले मनसुनजस्ता मौसमी प्रणाली खलबलिएको औंल्याएको छ । यसको असर नेपालको मौसमी प्रणालीमा पनि परेको छ र यसवर्ष बाढी पहिरोबाट धनजनको ठूलो नोक्सानी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु सम्मेलनमा नेपालमा हुने विपद् जन्य जोखिम न्यूनीकरण तथा क्षतिको व्यवस्थापन गर्ने काममा सहकार्य गर्न आह्वान गर्ने तयारी गर्नुभएको छ । यसैगरी नेपालले हिमालय क्षेत्रमा हिउँ पग्लने र हिमताल विस्फोटनको जोखिमबारेमा पनि विश्वको ध्यानाकर्षण गराउने वन मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपालले पर्वतीय देशहरुहरू र अति कम विकसित देशको समूहमार्फत आफ्ना कुरा लागेको हो ।